नयाँ सूचना
नगरप्रमुख, उपप्रमुख र वडा अध्यक्षहरूको उपस्थितिमा बागमती नगरपालिकामा 'सामी' कार्यक्रम सम्बन्धी अन्तरक्रिया सम्पन्न
बागमती नगरपालिका नगर कार्यपालिकाको कार्यालय, कर्माैया, सर्लाहीको आयोजना तथा हेलभेटास नेपालको प्राविधिक सहयोगमा "सुरक्षित आप्रवासन (सामी) कार्यक्रम चौथो चरण (२०८४-२०८९)" अन्तर्गत विषयगत समिति, शाखाहरू र सरोकारवालाहरूबीचको अन्तरक्रिया तथा अभिमुखीकरण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।
बागमती नगरपालिकाका नगरप्रमुख (मेयर), उपप्रमुख (उपमेयर) र विभिन्न वडाका वडा अध्यक्षज्यूहरूको विशेष उपस्थितिमा सम्पन्न यस कार्यक्रममा "स्वदेशमा नै रोजगारी गरौँ, वैदेशिक रोजगारीमा जाने नै भए सही सूचना लिएर र सीप सिकेर मात्र जाऔँ" भन्ने मूल नारालाई जोड दिइएको थियो।
कार्यक्रममा वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित र व्यवस्थित बनाउन स्थानीय सरकार एवं वडा तहको भूमिका, सामी कार्यक्रमको आगामी रणनीति, र वैदेशिक रोजगारीमा रहेका नगरवासीका परिवारलाई स्थानीय स्तरमै प्रदान गरिने परामर्श तथा वित्तीय साक्षरता जस्ता सेवा प्रवाहका विषयमा विस्तृत प्रस्तुतीकरण र गहन छलफल गरिएको थियो।





